Total Pageviews

Popular Posts

My Blog List

tharu

tharu
tharu

Wednesday, January 11, 2012

थारु जातिको नयाँवर्ष 'माघी'



लक्की चौधरी
धनगढी, कैलाली, १७ जनवरी

"सखिये हो ! माघीक् पिली गुरी जाँर ..." (साथीहरु हो ! माघीमा पियौं गुलियो जाँड) अधिकांश नेपालीको मुखमा झुण्डिएको यो गीतको एक हरफले रुपष्टरुपमा थारुको पहिचान झल्काउन सक्छ । एकाअपसमा रमाइलो गर्ने, साथीभाइबीच भातृत्वप्रेम तथा आदरसम्मान गर्न सिकाउने 'माघी' पर्व थारु जातिको नयाँ वर्ष हो । नयाँ नीति नियम बनाउने, लागु गर्ने, प्रतिवद्धता जनाउने तथा नयाँ कामको जिम्मेवारी बाँडफाँड गर्ने माघीले वर्षरिको कामको समिक्षा गर्दछ । एकवर्षो अवधिमा के कति काम भए, के राम्रा भए, के नराम्रा भए । वर्षरिका लागि बनाइएको योजना सफल भए कि भएनन् ? सफल भए भने कतिमात्रामा भए र असफल भए भने के कारणले भए, यावत कुराको लेखाजोखा गहन तरिकाले यस पर्वमा थारुहरुले गर्ने गर्दछन् । जिम्मेवारी पाउनेले जिम्मेवारी निभाउन सक्यो कि सकेन ? लापरवाही गरेको छ भने उसलाई के-कस्तो दण्ड जरिवाना गर्ने आदि कुराको निर्क्यौल माघीले गर्छ ।

थारु जातिको मौलिकता बोकेको ऐतिहासिक् चाड माघी विकासे पर्व हो । यसले 'मेरो हैन हाम्रो' भावनाको विकास जगाउँछ । पूर्खाको आशीर्वाद, आफूभन्दा ठूलाको आदर र सानालाई माया गर्ने भावनाको उत्सर्जन गर्दछ । वर्षभरिको दुःख सुखका कुरा एकापसमा साटासाट गर्ने, मीठो-मसिनो खाएर आत्मसन्तुष्टि लिने काम हुन्छ । विवाहगरी अन्य ठाउँमा गएका चेलीबेटीलाई उपहार दिने र उनीहरुको सुख-दुःखको कुरा अभिभावकबाट जानकारी लिने काम पनि हुन्छ । चेलीबेटीले आफूले भोगेका समस्या खुलेर राख्न पाउँछन् र बुवा-आमासँग सुख-दुःखका कुराहरु साटासाट गर्ने अवसर पाउँछन् । वर्षभरि गरिएको मेहनत र प्रगतिबारे एकापसमा जानकारी लिने र समस्याका कुरा अरुसँग साटेर अलिकति भए पनि मन हलुङ्गो पार्ने अवसर यस चाडले दिन्छ ।

माघी पर्व यस अर्थले पनि महत्वपूर्ण छ कि माघेसंक्रान्तिका दिन नदी, पोखरी तथा जलासयमा गएर नुहाउँदा वर्षभरिको पाप पखालिन्छ भन्ने थारुमा जनविश्वास छ । त्यो दिन सशुल्क नुहाउने गरिन्छ । जलदेवतालाई पैसा चढाएर मात्र नुहाउने चलन छ । कामको सिलसिलामा घरबाहिर गएकाहरु माघीमा अनुकुलता भए अनिवार्य घर फर्कन्छन् । मिलनको अवसर जुराउने यस पर्वले नयाँ नेतृत्वको छनौट पनि गर्दछ ।

गाउँको नेतृत्व कसलाई दिने, उसको पारिश्रमिक कति तोक्ने निर्क्यौल हुन्छ । गाउँको नेतृत्वकर्ता (बडघर) गाउँको पूजारी (चिरक्या) र हुलाकीको काम गर्ने (चौकीदार) को व्यवस्था गरिन्छ । उनीहरुको वर्षरिको पारिश्रमिक र जिम्मेवारी तोकिन्छ । वर्षभरिको घरको नाफा नोक्सानको समिक्षा गरी चित्तबुझ्दो भए घरमुली पुनः एक वर्षका लागि नियुक्त गर्ने नभए अर्को व्यवस्था गर्ने गरिन्छ । घरको अनुशासन कायम घरमुलीले गर्छ भने गाउँको बडघरले गर्ने गर्दछ । गाउँको नीति नियम बनाउने र त्यसको पालना गराउने जिम्मेवारी गाउँभरिका मानिसहरु सामुहिक छलफल गरेर बडघर लगायतका पदाधिकारीलाई सुम्पने गर्दछन् । बर्षभरिको कामको जिम्मा लिई बसेको बड्घरले काम चित्तबुझ्दो नगरे छलफलबाटै उसलाई बीचैमा हटाउन पनि सकिन्छ । गाउँको साझा नीति नियम बमोजिम पदाधिकारीले काम गर्नुपर्ने हुन्छ । त्यसो हुन नसके गाउँको व्यवस्थापन र अनुशासन खलबलिनसक्छ । यसप्रति सबै चनाखो हुन्छन् । माघीदेखि थारुहरुको नयाँ खाता सुरुवात हुन्छ । तिर्नुपर्ने ऋणहरु चुक्ता गर्ने र नयाँ कामको प्रारम्भ गर्ने काम हुन्छ । कुलोपानीको उचित व्यवस्थापनको योजना निर्माण हुन्छ ।

भालेबासेपछि एकाविहानै नुहाई चोखो भइन्छ । शुद्ध हातले चेलीबेटीका लागि नुन, दाल तथा चामल उपहार छुट्याइन्छ । जसलाई "निसराउ" भन्ने गरिन्छ । घरबाट ढोगसलाम शुरु गरी गाउँभरीका मान्यजनकहाँ पुग्नुपर्छ । कहिंकहिं सेतो टीकाको पनि प्रयोग गर्ने गरिन्छ । माघेसंक्रान्ति मकरसंक्रान्ति सँगै पर्ने हुनाले त्यसदिन पाप र अशुभ काम नगर्ने हुनाले थारुहरु पुसको अन्तिम दिन नै मासुका लागि सुंगुर-बंगुर काट्ने गर्छन् । जसलाई थारु भाषामा "जिता मार्ने" भनिन्छ । माघेसंक्रान्तिका दिन विशुद्ध चोखो चिजबस्तुहरु घरमा बनाई खाने गरिन्छ । चेलीबेटीलाई माइतमा बोलाई मीठोमसिनो खान दिइन्छ । गच्छअनुसार उपहार कपडा तथा दक्षिणा पनि दिने चलन छ । वर्षभरिको रिसराग, द्वेष, बैमनस्यतालाई माघेसंक्रान्तिकै दिन त्याग गरी नयाँ सम्बन्धको सुरुवात गरिन्छ । झैझगडालाई आपसी मिलनमा रुपान्तरण गरिन्छ ।

विशेषगरी माघीमा थारुहरु ढिक्री, मुरही, खिचरी, तिलको लड्डु, खँरिया, अण्डीभात, सखरखण्ड, तरुल, माछा, गगंटा, मासु, जाँड र त्यसको झोल एवं दारु लगायतका परिकार खाने गर्दछन् । माघेसंक्रान्तिको अघिल्लो दिन रातभरी जाग्राम बसी धुमरुगीत तथा डफुहरु बजाई मनोरञ्जन गरिन्छ । गाउँघरमा एउटा उखान छ "जाँर ना दारु काहेक् थारु" (जाँड नभएको पनि के थारु) । त्यसैले माघी पर्वमा प्रायः सबै घरमा जाँड र दारुको व्यवस्था गरिएको हुन्छ । घरमै उत्पादन गरिएका अन्नका ती जाँडहरु सत्कारस्वरुप पाहुना तथा घर गाउँका सदस्यलाई खान दिइन्छ । अघिपछि काममा व्यस्त हुने थारुहरु चाडवाडमा खुलेरै रमाइलो गर्ने गर्दछन् । माघीमा मघौटा, छोक्रा, हुरडंग्वा, झुमरा लगायतको नाच नाचिन्छ । यस चाडमा आफू पनि खाने र अरुलाई पनि खुवाउने चलन छ । घरका सदस्यहरुसँगै गाउँका अन्य सदस्यहरुलाई पनि बोलाई खुवाइन्छ । काम गर्न र खानमा नहिच्किचाउने थारुहरु परिआएको बेला जस्तोसुकै सहयोग गर्न तयार हुन्छन् ।

पुसको अन्तिम दिनबाट शुरु हुने माघीपर्व करिब एक हप्तासम्म मनाइन्छ । पहिलोदिन माघेसंक्रान्ति, दोस्रोदिन खिचडीभात पकाइखाने ख्रि्रहुवा, पहिलो दिननबाट शुरु भई पाँचौ र सातौं दिनसम्म नाचगान गरी रमाइलो गर्ने गरिन्छ । गाउँमा केटा-केटी, उमेरले अधवैसे तथा बुढाबुढीको अलग-अलग समूह बनाई नाचिन्छ । सामुहिक नाचले गर्दा हप्तादिनसम्म गाउँ नै गुञ्जयमान हुन्छ । नाचसँगै जाँडको झोल र रक्सी पनि खाने गरिन्छ । नाचेबापत दक्षिणा असुली त्यसलाई विकास निर्माणको काममा लगानी गर्ने गरिन्छ । यसोगर्दा एकातिर सामाजिक सदभाव पनि कायम हुने र अर्कोतिर संस्कृतिको पनि जगेर्ना एवं विकास पनि हुनेगर्छ । एक हप्तासम्म मनोरञ्जन गर्ने थारुहरु बाँकी हरहिसाव तथा नेतृत्व छनौट गर्ने काम माघ महिनाभरि गर्ने गर्दछन् ।

विगतमा माघी थारुका लागि अभिसाप नै सावित हुन्थ्यो । जमिन्दारको घरमा कमैया र कम्लहरी राख्ने प्रचलन माघीबाटै शुरु गरिन्थ्यो । एउटा कमैयालाई छारागर्ने र अर्कोलाई पशु किनेजस्तै उनीहरुलाई खरिद गरी दास जिवन जिउन बाध्य पारिन्थ्यो । वि.सं. २०५७ साल साउन २ गते तत्कालिन सरकारले कमैयालाई मुक्त घोषणा गरेपछि कमैयाप्रथाको अन्त्य भए पनि कमलहरी प्रथा अझै कायमै छ । माघी पर्वको सार्वजनिक विदा दिने काम सरकारले वि.सं २०५९ सालबाट शुरु गरेपछि थारुहरु काठमाडौंमा समेत विगत आठ वर्षदेखि माघी महोत्सव कार्यक्रम गरी रमाइलो गर्दै आएका छन् । थारुहरु माघीको अतिरिक्त, दशैं, तिहार, होली, अतवारी, जितिया, सिरुवा, कृष्णाष्टमी, गुरिया, छठ, भजहर लगायतका चाडहरु मनाउने गर्दछन् ।

नयाँ नेपाल बनाउने सुरमा अगाडि बढेका राजनीतिक दलहरु यतिबेला त्रि्र मतभेदमा छन् । लोकतान्त्रिक गणतन्त्रात्मक नेपाल बनाउन हिडेका उनीहरु रणभूल्लमा छन् । थारुहरुको नयाँ वर्षमाघीले राजनीतिक दलका नेताहरुको आँखा उघार्नसके देशले निकास पाउँथ्यो । थारुहरुको लोकतान्त्रिक पद्धतिबाट दलका नेताहरु केही सिक्न जरुरी छ । कम्तीमा एउटा किसानले वर्षरीको कामको योजना बनाई काम गर्ने गर्दछ र परिवारजहान सुखसँग पालेको हुन्छ । तर हाम्रा नेताहरुको काम योजनाविहिन भएकै कारण अहिलेसम्म देश कुहिरोको कागझै भड्किनु परिरहेको छ । कुन बेला बाली राख्ने, कहिले गोडमेल गर्ने, कुनबेला मल राख्ने, कहिले बालीमा पानी हाल्ने, स्याहार्ने लगायतको निश्चित् योजना बनाएर किसानले काम गर्ने गर्दछ र त मेहनतअनुसारको फल पनि प्राप्त गर्छ । थारुको माघी पर्वबाट सबैले पाठ सिक्न सके देशलाई उभो लगाउनमा सहयोग पुग्थ्यो कि !

No comments:

Post a Comment