Total Pageviews
Popular Posts
-
लक्की चौधरी धनगढी, कैलाली, १७ जनवरी "सखिये हो ! माघीक् पिली गुरी जाँर ..." (साथीहरु हो ! माघीमा पियौं गुलियो जाँड) अधिकांश नेपालीक...
-
झापा , २८ साउन / १७औं विश्व आदिवासी जनजाति स्थापना दिवसको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत शनिबार मेचीनगरमा सांस्कृतिक तथा सम्मान कार्यक्रम ...
-
आदिवासी जनजातिको हक अधिकार प्रत्याभूत गर्न स्थापित अन्तर्राष्ट्रिय श्रम संगठन -क्ष्ीइ) महासन्धी नं. १६९ लाई २०६४ को संसदको हिउादे अधिवेशनले...
-
कञ्चनपुरको जोनापुरकी साठी वर्षीया आशा रानी चौधरीलाई परम्परागत आभूषण र पहिरन लगाएको सम्झना मात्रै छ । आधुनिकताको प्रवेशले थारु समुदायका आभूष...
-
लवकुमार चौधरी गएको १२ अगस्तमा युवाहरुले देशभरि हर्षाेल्लासपूर्वक विविध कार्यक्रमहरु आयोजना गरी युवा दिवस मनायो । तर, यो देशमा युवाह...
-
दाङ, १३ कार्तिक । थारु कल्याणकारीणी सभाका नव निर्वाचित अध्यक्ष चन्द्रकुमार चौधरीले अहिलेसम्मका उपलब्धी रक्षा गर्दै थारु आन्दोलनलाई थप सशक्त ...
My Blog List
Wednesday, January 11, 2012
थारु जातिको नयाँवर्ष 'माघी'
लक्की चौधरी
धनगढी, कैलाली, १७ जनवरी
"सखिये हो ! माघीक् पिली गुरी जाँर ..." (साथीहरु हो ! माघीमा पियौं गुलियो जाँड) अधिकांश नेपालीको मुखमा झुण्डिएको यो गीतको एक हरफले रुपष्टरुपमा थारुको पहिचान झल्काउन सक्छ । एकाअपसमा रमाइलो गर्ने, साथीभाइबीच भातृत्वप्रेम तथा आदरसम्मान गर्न सिकाउने 'माघी' पर्व थारु जातिको नयाँ वर्ष हो । नयाँ नीति नियम बनाउने, लागु गर्ने, प्रतिवद्धता जनाउने तथा नयाँ कामको जिम्मेवारी बाँडफाँड गर्ने माघीले वर्षरिको कामको समिक्षा गर्दछ । एकवर्षो अवधिमा के कति काम भए, के राम्रा भए, के नराम्रा भए । वर्षरिका लागि बनाइएको योजना सफल भए कि भएनन् ? सफल भए भने कतिमात्रामा भए र असफल भए भने के कारणले भए, यावत कुराको लेखाजोखा गहन तरिकाले यस पर्वमा थारुहरुले गर्ने गर्दछन् । जिम्मेवारी पाउनेले जिम्मेवारी निभाउन सक्यो कि सकेन ? लापरवाही गरेको छ भने उसलाई के-कस्तो दण्ड जरिवाना गर्ने आदि कुराको निर्क्यौल माघीले गर्छ ।
थारु जातिको मौलिकता बोकेको ऐतिहासिक् चाड माघी विकासे पर्व हो । यसले 'मेरो हैन हाम्रो' भावनाको विकास जगाउँछ । पूर्खाको आशीर्वाद, आफूभन्दा ठूलाको आदर र सानालाई माया गर्ने भावनाको उत्सर्जन गर्दछ । वर्षभरिको दुःख सुखका कुरा एकापसमा साटासाट गर्ने, मीठो-मसिनो खाएर आत्मसन्तुष्टि लिने काम हुन्छ । विवाहगरी अन्य ठाउँमा गएका चेलीबेटीलाई उपहार दिने र उनीहरुको सुख-दुःखको कुरा अभिभावकबाट जानकारी लिने काम पनि हुन्छ । चेलीबेटीले आफूले भोगेका समस्या खुलेर राख्न पाउँछन् र बुवा-आमासँग सुख-दुःखका कुराहरु साटासाट गर्ने अवसर पाउँछन् । वर्षभरि गरिएको मेहनत र प्रगतिबारे एकापसमा जानकारी लिने र समस्याका कुरा अरुसँग साटेर अलिकति भए पनि मन हलुङ्गो पार्ने अवसर यस चाडले दिन्छ ।
माघी पर्व यस अर्थले पनि महत्वपूर्ण छ कि माघेसंक्रान्तिका दिन नदी, पोखरी तथा जलासयमा गएर नुहाउँदा वर्षभरिको पाप पखालिन्छ भन्ने थारुमा जनविश्वास छ । त्यो दिन सशुल्क नुहाउने गरिन्छ । जलदेवतालाई पैसा चढाएर मात्र नुहाउने चलन छ । कामको सिलसिलामा घरबाहिर गएकाहरु माघीमा अनुकुलता भए अनिवार्य घर फर्कन्छन् । मिलनको अवसर जुराउने यस पर्वले नयाँ नेतृत्वको छनौट पनि गर्दछ ।
गाउँको नेतृत्व कसलाई दिने, उसको पारिश्रमिक कति तोक्ने निर्क्यौल हुन्छ । गाउँको नेतृत्वकर्ता (बडघर) गाउँको पूजारी (चिरक्या) र हुलाकीको काम गर्ने (चौकीदार) को व्यवस्था गरिन्छ । उनीहरुको वर्षरिको पारिश्रमिक र जिम्मेवारी तोकिन्छ । वर्षभरिको घरको नाफा नोक्सानको समिक्षा गरी चित्तबुझ्दो भए घरमुली पुनः एक वर्षका लागि नियुक्त गर्ने नभए अर्को व्यवस्था गर्ने गरिन्छ । घरको अनुशासन कायम घरमुलीले गर्छ भने गाउँको बडघरले गर्ने गर्दछ । गाउँको नीति नियम बनाउने र त्यसको पालना गराउने जिम्मेवारी गाउँभरिका मानिसहरु सामुहिक छलफल गरेर बडघर लगायतका पदाधिकारीलाई सुम्पने गर्दछन् । बर्षभरिको कामको जिम्मा लिई बसेको बड्घरले काम चित्तबुझ्दो नगरे छलफलबाटै उसलाई बीचैमा हटाउन पनि सकिन्छ । गाउँको साझा नीति नियम बमोजिम पदाधिकारीले काम गर्नुपर्ने हुन्छ । त्यसो हुन नसके गाउँको व्यवस्थापन र अनुशासन खलबलिनसक्छ । यसप्रति सबै चनाखो हुन्छन् । माघीदेखि थारुहरुको नयाँ खाता सुरुवात हुन्छ । तिर्नुपर्ने ऋणहरु चुक्ता गर्ने र नयाँ कामको प्रारम्भ गर्ने काम हुन्छ । कुलोपानीको उचित व्यवस्थापनको योजना निर्माण हुन्छ ।
भालेबासेपछि एकाविहानै नुहाई चोखो भइन्छ । शुद्ध हातले चेलीबेटीका लागि नुन, दाल तथा चामल उपहार छुट्याइन्छ । जसलाई "निसराउ" भन्ने गरिन्छ । घरबाट ढोगसलाम शुरु गरी गाउँभरीका मान्यजनकहाँ पुग्नुपर्छ । कहिंकहिं सेतो टीकाको पनि प्रयोग गर्ने गरिन्छ । माघेसंक्रान्ति मकरसंक्रान्ति सँगै पर्ने हुनाले त्यसदिन पाप र अशुभ काम नगर्ने हुनाले थारुहरु पुसको अन्तिम दिन नै मासुका लागि सुंगुर-बंगुर काट्ने गर्छन् । जसलाई थारु भाषामा "जिता मार्ने" भनिन्छ । माघेसंक्रान्तिका दिन विशुद्ध चोखो चिजबस्तुहरु घरमा बनाई खाने गरिन्छ । चेलीबेटीलाई माइतमा बोलाई मीठोमसिनो खान दिइन्छ । गच्छअनुसार उपहार कपडा तथा दक्षिणा पनि दिने चलन छ । वर्षभरिको रिसराग, द्वेष, बैमनस्यतालाई माघेसंक्रान्तिकै दिन त्याग गरी नयाँ सम्बन्धको सुरुवात गरिन्छ । झैझगडालाई आपसी मिलनमा रुपान्तरण गरिन्छ ।
विशेषगरी माघीमा थारुहरु ढिक्री, मुरही, खिचरी, तिलको लड्डु, खँरिया, अण्डीभात, सखरखण्ड, तरुल, माछा, गगंटा, मासु, जाँड र त्यसको झोल एवं दारु लगायतका परिकार खाने गर्दछन् । माघेसंक्रान्तिको अघिल्लो दिन रातभरी जाग्राम बसी धुमरुगीत तथा डफुहरु बजाई मनोरञ्जन गरिन्छ । गाउँघरमा एउटा उखान छ "जाँर ना दारु काहेक् थारु" (जाँड नभएको पनि के थारु) । त्यसैले माघी पर्वमा प्रायः सबै घरमा जाँड र दारुको व्यवस्था गरिएको हुन्छ । घरमै उत्पादन गरिएका अन्नका ती जाँडहरु सत्कारस्वरुप पाहुना तथा घर गाउँका सदस्यलाई खान दिइन्छ । अघिपछि काममा व्यस्त हुने थारुहरु चाडवाडमा खुलेरै रमाइलो गर्ने गर्दछन् । माघीमा मघौटा, छोक्रा, हुरडंग्वा, झुमरा लगायतको नाच नाचिन्छ । यस चाडमा आफू पनि खाने र अरुलाई पनि खुवाउने चलन छ । घरका सदस्यहरुसँगै गाउँका अन्य सदस्यहरुलाई पनि बोलाई खुवाइन्छ । काम गर्न र खानमा नहिच्किचाउने थारुहरु परिआएको बेला जस्तोसुकै सहयोग गर्न तयार हुन्छन् ।
पुसको अन्तिम दिनबाट शुरु हुने माघीपर्व करिब एक हप्तासम्म मनाइन्छ । पहिलोदिन माघेसंक्रान्ति, दोस्रोदिन खिचडीभात पकाइखाने ख्रि्रहुवा, पहिलो दिननबाट शुरु भई पाँचौ र सातौं दिनसम्म नाचगान गरी रमाइलो गर्ने गरिन्छ । गाउँमा केटा-केटी, उमेरले अधवैसे तथा बुढाबुढीको अलग-अलग समूह बनाई नाचिन्छ । सामुहिक नाचले गर्दा हप्तादिनसम्म गाउँ नै गुञ्जयमान हुन्छ । नाचसँगै जाँडको झोल र रक्सी पनि खाने गरिन्छ । नाचेबापत दक्षिणा असुली त्यसलाई विकास निर्माणको काममा लगानी गर्ने गरिन्छ । यसोगर्दा एकातिर सामाजिक सदभाव पनि कायम हुने र अर्कोतिर संस्कृतिको पनि जगेर्ना एवं विकास पनि हुनेगर्छ । एक हप्तासम्म मनोरञ्जन गर्ने थारुहरु बाँकी हरहिसाव तथा नेतृत्व छनौट गर्ने काम माघ महिनाभरि गर्ने गर्दछन् ।
विगतमा माघी थारुका लागि अभिसाप नै सावित हुन्थ्यो । जमिन्दारको घरमा कमैया र कम्लहरी राख्ने प्रचलन माघीबाटै शुरु गरिन्थ्यो । एउटा कमैयालाई छारागर्ने र अर्कोलाई पशु किनेजस्तै उनीहरुलाई खरिद गरी दास जिवन जिउन बाध्य पारिन्थ्यो । वि.सं. २०५७ साल साउन २ गते तत्कालिन सरकारले कमैयालाई मुक्त घोषणा गरेपछि कमैयाप्रथाको अन्त्य भए पनि कमलहरी प्रथा अझै कायमै छ । माघी पर्वको सार्वजनिक विदा दिने काम सरकारले वि.सं २०५९ सालबाट शुरु गरेपछि थारुहरु काठमाडौंमा समेत विगत आठ वर्षदेखि माघी महोत्सव कार्यक्रम गरी रमाइलो गर्दै आएका छन् । थारुहरु माघीको अतिरिक्त, दशैं, तिहार, होली, अतवारी, जितिया, सिरुवा, कृष्णाष्टमी, गुरिया, छठ, भजहर लगायतका चाडहरु मनाउने गर्दछन् ।
नयाँ नेपाल बनाउने सुरमा अगाडि बढेका राजनीतिक दलहरु यतिबेला त्रि्र मतभेदमा छन् । लोकतान्त्रिक गणतन्त्रात्मक नेपाल बनाउन हिडेका उनीहरु रणभूल्लमा छन् । थारुहरुको नयाँ वर्षमाघीले राजनीतिक दलका नेताहरुको आँखा उघार्नसके देशले निकास पाउँथ्यो । थारुहरुको लोकतान्त्रिक पद्धतिबाट दलका नेताहरु केही सिक्न जरुरी छ । कम्तीमा एउटा किसानले वर्षरीको कामको योजना बनाई काम गर्ने गर्दछ र परिवारजहान सुखसँग पालेको हुन्छ । तर हाम्रा नेताहरुको काम योजनाविहिन भएकै कारण अहिलेसम्म देश कुहिरोको कागझै भड्किनु परिरहेको छ । कुन बेला बाली राख्ने, कहिले गोडमेल गर्ने, कुनबेला मल राख्ने, कहिले बालीमा पानी हाल्ने, स्याहार्ने लगायतको निश्चित् योजना बनाएर किसानले काम गर्ने गर्दछ र त मेहनतअनुसारको फल पनि प्राप्त गर्छ । थारुको माघी पर्वबाट सबैले पाठ सिक्न सके देशलाई उभो लगाउनमा सहयोग पुग्थ्यो कि !
Subscribe to:
Posts (Atom)